३१ बैशाख,सल्यान । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सल्यानको बैठकले लकडाउनलाई जेठ १६ गते राति १२ बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको छ ।
जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमित हुनेको संख्या र निधन हुनेको संख्यामा वृद्धि भईरहेको भन्दै जेठ १ सम्मको निषेधाज्ञालाई बढाएर जेठ १६ गते राती १२ बजेसम्म जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले सल्यानन्युजलाई जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले भन्नुभयो,‘सल्यानमा आइसीयु तथा भेन्टीलेटरको सेवा उपलब्ध नभएको,स्वास्थ्य उपचार सम्बन्धीका उपकरण सिमित रहेको र संक्रमण वृद्धि दर झन् बढ्दै गइरहेकोले कोभिडको जोखिमलाई न्यूनीकरण गर्न तथा उपचारको प्रवन्ध मिलाउन निषेधाज्ञा गर्ने निर्णय भएको हो ।’
प्रजिअ हुमागाईका अनुसार अब भारत लगाएत अन्य देश तथा जिल्ला बाहिरबाट सल्यान फर्किएकाहरु अनिवार्य होम क्वारेन्टाइनमा बस्नु पर्ने र त्यसको अनुगमन सम्बन्धित वडाले गर्ने निर्णय भएको छ ।
दाङमा पनि दुई हप्ता लकडाउन थपियो
नयाँ भेरियन्ट सहितको कोरोना भाइरस दाङमा तिब्र रुपमा फैलिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले थप दुई हप्ता लकडाउन थप गर्ने निर्णय गरेको छ । जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले लकडाउन थप गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार दैनिक कोरोना संक्रमितको संख्या दाङमा बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि नरोकिएकोले जेठ १५ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो । यसअघि दाङमा जेठ १ गतेसम्म लकडाउन गरिएको थियो । दाङमा वैशाख १७ गतेदेखि लकडाउन जारी छ ।
Error generating audio.