सल्यान । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गरेको यात्रुबाहक हाईस गाडी सल्यानको कुमाख गाउँपालिका-२, नेटा नजिक दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।
बिहीबार दिउँसो करिब १२ बजेतिर भे १ ख ३९९६ नम्बरको फोर्स गाडी नेटा क्षेत्रको माथिल्लो मोडबाट चिप्लिएर तल्लो मोडमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय रागेचौरबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त दुर्घटनामा परि घाईते हुनेहरुमा सल्यानको कुमाख गाउँपालिका ४ बस्ने २८ वर्षीय चालक पारस आचार्य, सोहि वडा निवासी ३६ वर्षीय भुपेन्द्र बस्नेत, ६३ वर्षीय टिकाराम आचार्य, ३५ वर्षीया निर्मला बुढाथोकी, १० वर्षीया जेनिशा बुढाथोकी, ७ वर्षीय महेन्द्र बस्नेत, ६२ वर्षीय कलिभान टमाटा, २३ वर्षीय भुवन लामिछाने, सोहि गाउँपालिका वडा नम्वर २ निवासी ३२ वर्षीया दिपा बुढाथोकी, उहाँको ६ वर्षीया छोरी कोपिला बुढाथोकी, वडा नम्वर १ निवासी १६ वर्षीय ईन्द्र रावत र २६ वर्षीय डोेले बस्नेत रहनुभएको छ ।
यसैगरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ निवासी ८४ वर्षीया चन्द्री बिष्ट, ३१ वर्षीया कुन्ता बिष्ट र सुर्खेतको भेरीगंगा नगरपालिका ९ निवासी ३१ वर्षीया तुलसा सुनार घाईते हुनुभएको छ ।
घाईते मध्य दुई जनाको अवस्था गम्भिर रहेको बताईएको छ । गाडी अनियन्त्रित भएर नेटा नजिकैको माथिल्लो मोडबाट करिब ५० मिटर तलको मोडमा पुगेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Error generating audio.